झापा, २० मंसिर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ८ जना जेल चलान भएका छन्। झापा जिल्ला अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको छ भने धरौटी तिर्न नसकेका चार जना पनि कारागार पठाइएका हुन्।
जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा आपराधिक उपद्रव, थुनुवा भगाउने तथा हातहतियारसम्बन्धी मुद्दामा पाँच जना प्रतिवादीमाथि आदेश जारी गरिएको थियो। सुनसरी हरिनगर–१ का २२ वर्षीय शाहिद हुसैन अन्सारी, बिर्तामोड–५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड–३ का २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षका लागि जेल पठाइएको झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए।
त्यस्तै, बिर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भए पनि धरौटी बुझाउन नसकेपछि दुबैजनालाई कारागार चलान गरिएको हो।
यसअघि नै बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी, १६ वर्षीय आयुष धिमाल र बिर्तामोड–६ का २४ वर्षीय अनिश मण्डल कारागार पठाइएका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठका अनुसार नवराज राईमाथि तेहेरो अभियोग लागेको छ भने अनिश मण्डल, शाहिद अन्सारी, पूजा मगर र सुरज राईमाथि दोहोरो अभियोग लागेको छ।
जेनजी आन्दोलनका क्रममा यसअघि इलाका प्रहरी कार्यालय दमकमाथि आक्रमण गर्ने १३ जनालाई पनि अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो।
हालसम्म झापाका विभिन्न प्रहरी कार्यालयहरूमा आक्रमण गरेको अभियोगमा ४६ जना पक्राउ परेका छन्। तीमध्ये २१ जना जेल चलान भइसकेका छन् भने ४ जना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको, ३ जना धरौटीमा रिहा भएका तथा ७ जना हाजिरी जमानीमा छुटेका छन्। बाँकीमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताए।







