काठमाडौं, ८ पुष । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री कार्कीसँग प्रत्यक्ष संवाद हुन लागेको हो।
देशमा राजनीतिक संकट थप गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको सक्रियतामा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच पहिलो पटक संयुक्त वार्ता हुन लागेको हो। यस भेटवार्तालाई वर्तमान राजनीतिक गतिरोध समाधानतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री कार्कीले यी शीर्ष नेताहरूसँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन्। उनले नवयुवाहरूको चाहनाअनुसार यी तीनै नेता राजनीतिबाट बिदा लिए उचित हुने धारणा सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन्।
तर प्रधानमन्त्री कार्कीको उक्त चाहनाअनुसार तीनै नेता राजनीतिबाट पछि हट्न तयार देखिएका छैनन्। एमाले अध्यक्ष ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् भने प्रचण्ड माओवादी राजनीति छाडेर नेकपा गठन गरी संयोजक बनेका छन्। यस्तै, कांग्रेस सभापति देउवा आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने तयारीमा जुटिसकेका छन्।







