काठमाडौँ, २५ असार । कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् ।
कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको हो ।
जोर्डन जान लागेकामा एक जना पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई आइतबार अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेका जानकारी दिए ।
उनले भने, ‘यस विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ ।’ उनका अनुसार आधिकारिकरूपमा उनीहरुको श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागले जनाएको छ ।







