काठमाडौँ, २२ मंसिर । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।
घलेले बिस्कुट आकारमा सुन ल्याएको भन्सार प्रमुख पाण्डेले बताए । सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान प्रयोजनका लागि हाल थुनामा पठाइएको छ ।







