काठमाडौँ, २५ साउन । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् ।
ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।
उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एक पटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराएका थिए ।
यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर-घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाएका हुन् ।






