काठमाडौँ, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरूको पार्टीले राष्ट्रिय मान्यता पाउन नसक्नुको कारण खोज्नुपर्ने बताएका छन् ।
शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकमा लिखित मन्तव्य राख्दै खनालले त्यसका वैचारिक र राजनीतिक कारणहरू खोज्नुपर्ने बताएका हुन् ।
प्रतिनिधसभाको प्रत्यक्षमा १० सिट जितेको समाजवादी पार्टीले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन ।
‘हामी के कारणले राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेनौँ? त्यसका वैचारिक, राजनीतिक र सांगठनिक कारणहरू के हुन्? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरू फेरि कहिल्यै नदोहरिने संकल्प गरौँ ।’ उनले लेखेका छन्, त्यसका लागि त्यही एजेन्डामा छलफल गर्न विशेष बैठक आयोजना गरौँ ।’
उनले पार्टी केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, पालिका र वडा कमिटीसम्मलाई व्यापक पुनर्गठन गर्नुपर्ने उल्लेख गरेका छन् । साथै छरिता, साना र कामकाजी कमिटीहरू निर्माण गर्नुपर्ने खनालको भनाइ छ ।







