झापा, २ असोज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् ।
भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका-१३ बस्ने डा.सुनित अग्रवाल र उनकी श्रीमती डा.अंकिता राठीलाई भेटिएका सो शिशुलाई वैकल्पिक हेरचाहका लागि दिने निर्णय गरेको हो ।
डा.सुनिल आर्मी हस्पिटल इटहरीका सर्जन र उनकी श्रीमती नोबेल हस्पिटल विराटनगरकी डेन्टलसहित प्रोफेसर हुन । २०६८ सालमा विवाह गरेका उनीहरूको सन्तान छैन ।
नगरपालिकाले गत भदौ २५ गते भेटिएका शिशुको वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचीकृत हुन आउन भनी सूचना जारी गरेका थियो । त्यसमध्ये पाँच जना दम्पतीले सूचीकृत फारम भरेका थिए ।
पाँच जनामध्ये डाक्टर दम्पतीलाई बच्चा जिम्मा लगाइएको नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक राधा कार्कीले बताइन् । वैकल्पिकको सूचीमा भद्रपुर नगरपालिका-१ का पर्शुराम लुइँटेल र ईश्वरादेवी विमली रहेका छन् ।
डाक्टर दम्पतीसँग वैकल्पिक हेरचाह सम्बन्धी कबुल नामामा हस्ताक्षर गराई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुन:स्थापना गृहमा रहेका बच्चालाई आजै जिम्मा लगाइसकेको उपप्रमुख कार्कीले बताइन् । ‘बच्चा उहाँहरूलाई जिम्मा लगाइसकेका छौँ,’ नगरप्रमुख गणेश पोखरेलले भने, ‘वैकल्पिक हेरचाहमा तलमाथि भयो भने बच्चालाई पुन: फिर्ता ल्याउने गरी नगरपालिकाले कागजात बनाएको छ । धर्मपुत्र बनाउनु पर्यो भने अदालती प्रक्रियामा जानुपर्ने हुन्छ,’ उनले भने ।
गत भदौ १२ गते मंगलबार साँझ पौने ८ बजे भद्रपुर नगरपालिका-७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो ।
त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण रुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेको थियो । सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएनन् ।







