झापा , २४ भदौ । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति भएका छन् ।
उनी नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित भएका हुन् । इजरालबाट फर्केर व्यावसायिक कृषि उद्यमी बनेका उनीसगै बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट किसान सम्मानित भएका छन् ।
इजरायलबाट फर्किएपछि बस्नेतले विसं २०७६ मा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेतीको सुरुआत गरेका थिए । उनले हाल २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी नाइन र रातो केराको खेती गर्दै आएको बताए ।
“पुरस्कार पाइन्छ भनेर काम गरेको थिइनँ”, उनले भने, “आफू पनि स्थानीय क्षेत्रमै व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिने उद्देश्यले केराखेती गरेको आज पुरस्कृत भएँ, खुसीको सीमा छैन ।”






