काठमाडौँ, २३ असोज । नेकपा एमाले झापाका नेता तथा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले एमाले परित्याग गरेका छन् । सजिलो खबरसँग कुरा गर्दै रानाले आफुले एमाले परित्याग गरेको पुष्टी गरे । राना नेकपा (माओवादी केन्द्र)को हँसिया हथौडा चुनाव हिन्ह लिएर झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका छन् । त्यसका लागि आज मनोनयन दर्ता गर्ने तयारी भएको माओवादी नेताले बताउका छन् ।
राना तत्कालीन नेकपा (माले)मा २०३९ सालदेखि आवद्ध रहेका थिए । २०४९ र २०५४ सालमा शनिश्चरे गाबिसको दुई पटक एमालेबाट अध्यक्ष भए थिए । उनी २०७४ सालमा अर्जुनधारा नगरपालिकाको मेयर भएका थिए । नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेका राना लोकप्रिय जनप्रतिनिधिमा पर्दथे ।
गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा परेको छ । पूर्व सभासद धर्मशीला चापागाई उम्मेदवार हुने चर्चा भए पनि गठबन्धनका तर्फबाट रानालाई उम्मेदवार बनाउने भएको हो । एमालेका असन्तुष्ट समूहको समर्थनमासमेत राना उम्मेदवार बनेका हुन् ।







