झापा, १७ मंसिर । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको हो।
आइतबार सम्पन्न उपचुनावको मतगणनाअनुसार चापाकल चुनाव चिह्न लिएर उठेका लक्ष्मीप्रसाद ४९३ मत ल्याएर विजयी हुनुभयो।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत पाउँदा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउनुभयो । माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन्।
लक्ष्मीप्रसाद अघिल्लो चुनावपमा पनि वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए। त्यतिखेर एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर विजयी भएका थिए। लक्ष्मीप्रसाद ४४० मत ल्याएर दोस्रो भएका थिए। त्यतिखेर उनको चुनाव चिन्ह जेब्रा (वनघोडा) थियो।
अहिले उनले फरक चुनाव चिन्ह चापाकल पाएका भए पनि त्यसले चुनावमा कुनै असर गरेन र एमालेसँग बदला लिन सफल भए।
मत परिणाम सार्वजनिक भएपछि उनले आफ्नो जितलाई जनताको जित भएको बताउनुभएको छ । मतगणनास्थलबाटै उहाले भन्नुभयो, ‘यो जनताकै जित हो। उहाँहरूको हृदयमा बस्न म सफल भएको रहेछु।’