झापा, ११ फागुन । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनको १० बिघा जमिनमा प्राणी उद्धार केन्द्रस्थल निर्माण गरिएको छ ।
प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोडको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा यतिबेला वनभित्र रहेका पशुपक्षीलाई धमाधम स्थानान्तरण गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
सामुदायिक वनले पर्यापर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपक्षीलाई उद्धार केन्द्रमा राखेको छ । प्रदेश नं १ मा पहिलोपटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपक्षी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ ।
“यहाँ राखिएका पशुपक्षीलाई थुनिएको आभास हुँदैन”, सिटौलाले भने, “पहिलो साँघुरो थियो अहिले खुल्ला र फराकिलो ठाउँ छ, प्राकृतिक पोखरी छन् । वरिपरि मात्र तारवारले व्यवस्थित घेराबारा गरिएको छ ।” उनले हाल निर्माण गरिएको उद्धार केन्द्र खुल्ला स्थानमा भएको जानकारी दिए ।
नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको थियो । सोहीअनुसार नै जामुनखाडीमा उद्धार केन्द्र बनेको हो । जामुनखाडी सामुदायिक वन विसं २०६५ देखि नै खुला चिडियाखानाका रूपमा प्रसिद्ध छ । वनको खुल्ला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको छ ।
उनले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको बताए । उनले पालिएका र उद्धार गरिएका पशुपक्षीलाई हालसम्म आफ्नै लगानीमा पशु चिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताउँदै भने, “सरकारले उद्धार केन्द्र भएका कारण एक चिकित्सक मात्र व्यवस्था गरिदिए ठूलो राहत हुने थियो ।” अध्यक्ष सिटौलाले वन्यजन्तु र पक्षीको हेरचाह, उपचार, कर्मचारी र खाना खर्चमा मात्र मासिक रु छ लाख खर्च भइरहेको बताए ।
चिडियाखाना र सिमसार क्षेत्रको घुमघामका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक गरी जामुनखाडी सामुदायिक वनमा वार्षिक एक लाख बढी पर्यटक आउने गरेको उनले बताए । उनले जनावर अवलोकन गर्न र सिमसार क्षेत्र घुम्न आउने पर्यटकसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको बताए । स्थायी र अस्थायी गरी ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको उक्त वन छ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
वर्षौँदेखि वनभोजस्थलका रूपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमूना नामका दुई ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र र मिनी रेलले पर्यटकलाई आकर्षण गर्दै आएका छन् ।