झापा, १ असार । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा अचानक आएको बाढीका कारण बीच भागमा फसेका सात जनाको प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ गर्मी छल्न तथा नुहाउन खोलामा गएका उनीहरू एक्कासी आएको बाढीका कारण बीच भागमै अलपत्र परेका थिए। साँझ करिब ७ बजेतिर खोलाको जलस्तर बढेपछि उनीहरू बाहिर निस्कन नसकी उद्धारको प्रतीक्षामा बसेका थिए।
खोला पार गर्न नसकेपछि फसेकाहरूले अस्थायी प्रहरी चौकी मंगलबारेलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा सशस्त्र प्रहरी बलको भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो।
उद्धार टोलीले राति करिब ८ बजे सबै सात जनालाई सकुशल बाहिर निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
उद्धार गरिएकामध्ये बिर्तामोड नगरपालिका–९ निवासी २६ वर्षीय राजु पाठक, ३४ वर्षीया एजिना पाठक र २३ वर्षीया आरती पाठक रहेका छन्। त्यसैगरी भद्रपुर नगरपालिका–५ का २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई र २४ वर्षीय रोहित साहको पनि सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा नदी तथा खोलाको जलस्तर अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।








