झापा, ४ फागुन । बिर्तामोड–७ स्थित मियाँबारी क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि प्रहरीले छापा मार्दा एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्।
हिजो दिउँसो करिब १ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको नेतृत्वमा खटिएको टोलीले मागु मियाँको घरमा खानतलासी गरेको थियो।
तलासीका क्रममा कोठाभित्रबाट प्लास्टिकसहित १ ग्राम ७८० मिलिग्राम तथा प्लास्टिकबाहेक ३८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। सोही घरका २७ वर्षीय महमद सजाकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







