झापा, १० भाद्र । झापाको मेचिनगर नगरपालिमा साेमबार बेलुकी अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा एक जना घाइते भएका छन्।
नगरपालिका – ९, दुर्गा मन्दिरनजिक कञ्चन निर्माण सेवाले सडक पिच गर्ने क्रममा प्रयोग भइरहेको मे १ ख ३१३७ नम्बरको अलकत्रा ट्याङ्करमा अत्यधिक तापका कारण आगलागी भएको हो।
घटनामा सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी करिब ३१ वर्षीय कामदार उमेश कुमार राय घाइते भएका हुन्।
अनुहार, दुवै हात र खुट्टामा जलेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
आगो लागेपछि स्थानीय प्रहरी, बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अलकत्रा ट्याङ्कर पूर्ण रूपमा जले पनि चालक सिन्धुली, सुनकोसी गाउँपालिका-७ निवासी ४२ वर्षीय गणेश दाहाल सकुशल रहेको प्रहरीले जनाएको छ।