झापा, ११ कार्तिक । झापामा सञ्चालित विकास निर्माण आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभा सदस्य र सरकारी कार्यालयका प्रमुखहरूबीच छलफल भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं. ४ का सांसद शम्भु सुस्केरासहित सरकारी निकायका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजना प्रमुख तथा निर्माण व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा एसियन हाइवे लगायत जिल्लामा सञ्चालित पूर्वाधार आयोजनाको प्रगति, निर्माणमा देखिएका समस्या र निर्धारित समयमै काम सम्पन्न गर्ने विषयमा विशेष चासो व्यक्त गरिएको थियो। सांसदहरूले आयोजनाको नियमित अनुगमन, निकायबीच समन्वय र जवाफदेहिता बढाउन जोड दिँदै विकासको प्रतिफल नागरिकले समयमै पाउनुपर्ने बताएका थिए।
त्यस्तै, सार्वजनिक सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउन कर्मचारीको सोच, कार्यशैली र व्यवहारमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ थियो। बैठकमा भूमि समस्या समाधान, मानव–हात्ती द्वन्द्वबाट हुने क्षति न्यूनीकरण तथा नागरिकका गुनासा शीघ्र सम्बोधन गर्ने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको शान्तिसुरक्षा, सेवा प्रवाह र विकास आयोजनाको अवस्थाबारे जानकारी गराउँदै सेवा प्रवाहलाई परिणाममुखी बनाउन प्रारम्भिक कार्ययोजनाको खाका प्रस्तुत गरे। भूमि समस्या समाधानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले आवश्यक जनशक्ति व्यवस्थापनका लागि सांसदहरूसँग पहल गर्न अनुरोध गरे।
मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था र सम्बन्धित निकायबीचको समन्वय थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
विकास आयोजना समयमै सम्पन्न गर्न सरकारी कार्यालय, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच निरन्तर समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका छन्। छलफलबाट झापाको विकास निर्माणलाई गति दिन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार र जवाफदेहिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






