Logo

झापाबाट ४४९ जना खेलाडी छनोट



झापा, १३ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ ।

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् ।

५९ औ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापन समारोहमा प्रजिअ रिजालले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए ।

उनले खेल र खेलाडीलाई साधन-स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दा मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए ।

समापन समारोहको अध्यक्षता गरेका झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको समग्र गतिविधिबारे जानकारी गराउँदै सीमित स्रोत-साधनका बावजुद भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापुर्वक सम्पन्न गरिएको बताए ।

उनले खेलाडीको छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट होस् भन्ने उद्देश्यका साथ सबै विधाका खेलको समिति निर्माण गरी संयोजक तोकिएको पनि बताए ।

सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पुर्याएर सेवानिवृत्त भएका दुई जना प्रशिक्षकलाई सम्मान गरिएको थियो ।

झापामा हक्की खेललाई जीवन्त राख्न र हक्कीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।

उनीहरुलाई समारोहका प्रमुख अतिथि प्रजिअ रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

झापामा छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोट भएको समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

समितिका कार्यालय सचिव नेम्वाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्