Logo

झापामा अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण



झापा, १२ असार । झापामा कृषक तथा व्यवसायीहरुलाई अग्र्यानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

नेपालमा अग्र्यानिक विधिबाट कृषिवस्तु उत्पादन गरी ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र त्यसबाट उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना र अर्गानिक एसोसिएसन नेपाल, ललितपुरको संयोजनमा झापाका ३० जनाभन्दा बढी उद्यमी तथा कृषकलाई क्षमता अभिबृद्धि प्रशिक्षण प्रदान गरिएको हो ।

झापाको विर्तामोडमा यही ८ गते सुरु भएको प्रशिक्षण आज बुधबार सम्पन्न भएको छ । तालिममा विज्ञ शंकर गुरुङ र अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता वाँस्कोटाले प्रशिक्षण दिनुभएको थियो । वाँस्कोटा पाँचथरको अर्गानिक चिया उत्पादक कञ्चनजंघा टि इपिण्ष्ट्रिजकी प्रवन्ध निर्देशक पनि हुनुन्छ ।

महिला उद्यमी उमा शिवाकोटीले सहजीकरण गरेको तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, आयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, उपनिर्देशक सिद्धिचरण दाहाल, अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता वाँस्कोटालगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक राणाको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नगप्रमुख प्रसाईंले सिकेको सीपलाई व्यवहारमा उतार्दै अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणमा आफ्नो क्षमता उजागर गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो् । त्यस्तै, केन्द्रका कार्यकारी निर्देशक राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाली वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक प्रक्रियाहरुका सम्बन्धमा व्यवासयीहलाई सहजीकरण गर्दै आएको जानकारी गराउँदै अर्गानिक उत्पादन, यसका मापदण्ड र अन्तर्राष्ट्रिय बजीकरणका लागि सधैं सकारात्मक सहयोग पुर्याइरहने बताउनुभयो ।

त्यस्तै, सहभागी रिना ओडारी, गंगा प्रसाईंलगायतले अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणका सम्बन्धमा धेरै कुरा सिक्न पाएको वताउनुभयो । कार्यक्रमको सञ्चालन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नवराज मरहट्ठाले गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यमी तथा कृषकको सहभागिता उल्लेख्य थियो ।

 

प्रतिक्रिया दिनुहोस्