Logo

झापामा करेन्ट लागेर दुई युवकको मृत्यु



झापा, २ साउन । झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ। घटनाहरू कचनकवल गाउँपालिका र गौरादह नगरपालिकामा भएका हुन्।

प्रहरीका अनुसार कचनकवल गाउँपालिका–३ पाँचबिगे निवासी २४ वर्षीय कमल गदाइलीको आफ्नै बारीमा जंगली हात्ती रोक्नका लागि जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो। गएराति करिब ९ बजे भएको घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी पथरियाबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

यस्तै, गौरादह नगरपालिका–६ बिरवलचोक निवासी २५ वर्षीय विनोद शर्माको आफ्नै घरमा फलामको स्ट्यान्ड भएको पंखा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः४५ बजे करेन्ट लागेका उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाएको जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्