झापा, ५ असार । कन्काई नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
आज दिउँसो करिब १२ बजे कन्काई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१त ७४०४ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी तथा ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्र्याक्टर तथा ट्र्याक्टर चालक कन्काई–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।








