Logo

झापामा दुर्घटना: ट्याक्टरमा मोटरसाइकल ठोकिँदा ३५ वर्षीय युवकको मृत्यु



झापा, २७ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित इन्द्रेणी चोकमा रोकिराखिएको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ।

गत आइतबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका अर्जुनधारा नगरपालिका–६ निवासी प्रवीण आङदेम्बेको उपचारका क्रममा गएराति बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि ठोक्किएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका आङदेम्बेको उपचारकै क्रममा ज्यान गएको हो।

मोटरसाइकलमा पछाडि सवार पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई हाल बिर्तामोड बस्दै आएका ४८ वर्षीय हरी आगंदम्बे पनि घाइते भएका छन्। उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक मेचीनगर नगरपालिका–२ निवासी ४० वर्षीय वीरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्