झापा, ४ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ सुरु भएको उक्त अभियान जिल्लाका सबै पालिका, वडा र टोलटोलमा पु¥याइने जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा अनिलकुमार यादवले जानकारी दिए । “रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ”, उनले भने, “अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ ।” सरकारले स्वास्थ्य क्षेत्रमा बर्सेनि उल्लेख्य बजेट छुट्याउँदै आएको भन्दै उनले रोगमुक्त समाज बनाउन सके उक्त रकम अन्य क्षेत्रमा खर्च हुने उल्लेख गरे ।
आधुनिकताका नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा बर्सेनि रोगीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा टंक बाराकोटीले बताए । “नसर्ने रोगको जोखिम र बिरामी बढ्दै गएका छन्”, उनले भने, “नसर्ने रोगबाट धेरैको ज्यान जाने गरेको छ, सही जीवनशैली अपनाउन सके मात्र त्यसलाई न्यून गर्न सकिन्छ ।” नागरिकलाई सहीबाटमा ल्याउन झक्झक्याउनका लागि नागरिक आरोग्य कार्यक्रम ल्याइएको उनले बताए ।
गलत व्यवहार र अव्यवस्थित जीवनशैलीकै कारण बर्सेनि मुलुकमा पाँच लाख घरपरिवार गरिबीको रेखामुनि पुग्ने गरेको जिल्ला आयुर्वेद कार्यालय उदपुरका प्रमुख डा सरोज विशालले बताए । सरकारको मात्र नभई व्यक्तिको ठूलो रकम स्वास्थ्य क्षेत्रमा खर्च भइरहेकाले नागरिक गरिबीको रेखामुनि पुग्न बाध्य भएको उनले बताए । “घरघरमा स्वास्थ्य चेतना प्रदान गर्न नागरिक अरोग्य अभियान सुरु भएको छ”, उनले भने, “आफ्नो बानी व्यवहारमा सामान्य परिवर्तन गर्न सकिएमात्रै स्वास्थ्य रहन सकिन्छ ।”
नेपाल स्टेप्सले सन् २०१९ मा गरेको सर्भेमा प्रदेश नं १ का नसर्ने रोगका जोखिमको तत्वमा सुर्तीजन्य पदार्थ सेवन गर्ने २२ दशमलव आठ प्रतिशत, मध्यपान गर्ने २३ दशमलव एक प्रतिशत, मापदण्डअनुरुप खानपान नगर्ने ९६ दशमलव चार प्रतिशत, नुन बढी प्रयोग भएको खानेकुरा खाने २१ दशमलव एक प्रतिशत, व्यवसायको तनाव लिने ५८ दशमलव पाँच प्रतिशत, घरभित्रको तनाव हुने ५८ दशमलव तीन प्रतिशत, मोटोपन भएका २२ दशमलव ९ प्रतिशत, उच्चरक्तचाप हुने २६ दशमलव छ प्रतिशत, रगतमा चिनीको मात्र बढी र औषधि प्रयोग गरिरहेका २८ दशमलव आठ प्रतिशत र स्वास्थ्यकर्मीबाट रक्तचाप नाप्ने ६८ प्रतिशत रहेको पाइएको तथ्याङ्क डा विश्वासले प्रस्तुत गर्नुभएको थियो । गरिब र विपन्न परिवारमा नसर्ने रोगको जोखिम बढी रहेको उहाँको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं १ का खगेन्द्र पौडेलले प्रदेश नं १ का १४ वटै जिल्लामा नागरिक आरोग्यता कार्यक्रम सुरु भएको बताए । निरोगी नेपाल कार्यक्रमअन्तर्गत स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनले उल्लेख गरे । कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय झापाका कविराज निरीक्षक टेकनाथ आर्यालले झापामा छवटा कार्यालयमार्फत अभियान सञ्चालन हुने बताए । “पालिका, वडा, टोल हुँदै घरघरमा पुग्छौँ”, उनले भने, “त्यसका लागि आवश्यक कामकारबाही अघि बढाएका छाँै ।”
कार्यक्रममा सहभागीका तर्फबाट स्वास्थ्य स्वयंसेविका सीता आचार्यले अभियानलाई आफूबाटै लागू गरी घरघरमा पु¥याउने प्रतिबद्धता जनाको भने भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्करले नागरिक आरोग्य कार्यक्रम मानिसको जीवन दैनिकीसँग जोडिएको महत्वपूर्ण कार्यक्रम रहेको बताए ।