
झापा , ३ साउन । पछिल्लो ६ घण्टामा देशको एक ठाउँ (झापाको शनिश्चरे)मा धेरै भारी वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७:४० बजे अपडेट गरेको विवरणअनुसार पछिल्लो ६ घण्टामा झापाको शनिश्चरेमा १००.२ मिलिमिटर वर्षा भएको हो। सो अवधिमा देशभरमा सबैभन्दा बढी वर्षा यही हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।
बिरिङ र अन्दुवामा बाढीको खतरा, निन्दा खेलामा पानीको सतह खतरा तहमा
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको निन्दा खेलामा पानीको सतहले खतरा तह पार गरेको छ। बिहीबार बिहान साढे ७ बजे त्यहाँ पानीको तह १२५ दशमलव ७८६ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यहाँ पानीको सतह १२२ दशमलव ५ मिटर कटेपछि खतरा तह मानिन्छ। झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा राति भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने बिरिङ, अदुवा र अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकोले आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी पछिल्लो ६ घण्टामा देशका अन्य दुई स्थानमा भारी वर्षा भएको छ। महाशाखाको तथ्यांकअनुसार सो अवधिमा डोटीको दिपायलमा ५४.८ र उदयपुरको मुर्कुची बजारमा ५४।२ मिलिमिटर वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् भारी वर्षा भन्छन्।
देशका अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।