झापा, २९ फागुन । झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका–२ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको ज्यान गएको प्रहरीले जनाएको छ। उनी आफ्नै घरमा सुतिरहेको बेला नजिकैको आँपको रुख घरमाथि ढल्दा घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।
यसैगरी, वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी–२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। मजदूरी गरी घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका उनी खेतमा लडेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
त्यस्तै अर्जुनधारा–४ रातेखालस्थित खोल्सा ९पैनी० मा डुबेर ५० वर्षीय कृष्ण कटुवाल मृत फेला परेका छन्। छारे रोगका बिरामी रहेका उनी पैनीमा घोप्टो परेको अवस्थामा भेटिएका थिए।
लगातारको वर्षाका कारण बिर्तामोड क्षेत्रका पसल तथा घरहरूमा पानी पसेर ठूलो क्षति पुगेको छ। बिर्तामोड–५ स्थित कलश इन्टर प्रा।लि।मा पानी पस्दा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। पसलमा रहेका लुब्रिकेन्ट र करिब २५० थान ब्याट्रीहरू पानीले भिजेर नष्ट भएका हुन्।
स्थानीय प्रहरी र नगरपालिकाको जेसीबी प्रयोग गरी पानीको निकास खोलिएको थियो। यस्तै बिर्तामोडकै तमु खाजा घरमा पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य गरेको थियो।
हावाहुरीका कारण बिर्तामोड–५ धिमाल चोकमा सडक किनारको सोलार पोल ढल्दा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन्। उनको हाल बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच गौरादह–९ मा पिपलको हाँगा भाँचिएर नितम भुजेलको घरको टिनको छानामा सामान्य क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार विपद्पछि सुरक्षाकर्मीको टोली विभिन्न स्थानमा परिचालन गरी जनधनको सुरक्षा तथा अनुसन्धान कार्य अघि बढाइएको छ।







