झापा, ८ असोज । झापामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कनकाई नगरपालिका- ४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका-१० निवासी ४५ वर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत मेचीनगर १२ स्थित पिपलडाँगीमा गएराति करिब ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
गम्भीर घाइते भएपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएपनि दुई जनाको शनिबार बिहान मृत्यु भएको हो। दुर्घटनामा परी प्र-१-०१-०१४ प ३३५० मोटरसाइकलको पछाडि सवार कनकाई- ४ निवासी रामबहादुर अधिकारी घाइते भएका छन्। प्रहरीले दुवै मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।






