Logo

झापामा यो वर्ष ३.५ लाख मेट्रिकटन धान उत्पादन, किसान भने मूल्य नपाएर समस्यामा



झापा, २१ मंसिर । झापा जिल्लामा यस वर्ष बर्खे धान उत्पादन तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी पुगेको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार कुल ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन धान उत्पादन भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानखेती क्षेत्रफल घटे पनि उत्पादकत्व भने वृद्धि भएको छ। गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टरमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन हुँदा उत्पादकत्व ५.०७३ मेट्रिकटन प्रतिहेक्टर थियो। यो वर्ष उत्पादकत्व बढेर ५.१९५ पुगेको उनले बताए।

यस वर्ष असोज–कात्तिकमा परेको बेमौसमी वर्षाका कारण झापामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको र करिब ७८ करोड ११ लाख ५६ हजार बराबरको आर्थिक क्षति भएको कार्यालयले जनाएको छ।

क्षतिसँगै किसान अहिले मूल्य नपाएर थप समस्यामा परेका छन्। सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको रु ३,६२८.३३ तोकेको भए पनि झापामा किसानले पर्याप्त मूल्य पाउन सकेका छैनन्। किसान अहिले मध्यम धान प्रतिक्विन्टल रु ३,००० र मोटा धान रु २,७५० मा बेच्न बाध्य छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको पुष्टि गर्दै समस्या समाधानका लागि आवाज उठिरहेको बताए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम झापा एकाइका प्रमुख रविन्द्र सुवेदीले सुरुवाती चरणमा चिस्यान बढी भएकाले मूल्य कम भएको हुनसक्ने उल्लेख गर्दै धानको गुणस्तर सुधारसँगै मूल्य समायोजन हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्