Logo

झापामा रात्रिबसले ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु

प्रहरी विटमा आगजनी



झापा, ७ कार्तिक । झापाको केर्खामा रात्रिबसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल ३ का मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बू रहेको प्रहरीले जानकारी दिएको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबा बर्थडे केक लिन गएका थिए । बर्थडे केक लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको थियो ।

सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ ।

प्रहरी विटमा आगजनी

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशितहरुले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन् । स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बस र बस चालक शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्