झापा, २६ असार । लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित भएका छन् । केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।
जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उहाले बताउनुभयो। उहाले गर्मी बढेसँगै लम्पी स्कीन रोगको सङ्क्रमण फैलिरहेको बताउनुभयो।
‘यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ’, उहाले भन्नुभयो, ‘रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौंँ ।’
उहाले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको बताउनुभयो।
यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ । केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाईगोरुमा सो समस्या नदेखिएको बताउनुभयो।
उहाले चालू आर्थिक वर्ष २०८१ / ०८२ मा गाईभैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताउनुभयो।
यसैगरी सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उहाले बताउनुभयो। सोही निवेदनका आधारमा कार्यालयले छ हजारदेखि ७८ हजारसम्म राहत स्वरुप प्रदान गर्दै आएको उहाले जानकारी दिनुभयो ।