Logo

झापामा लागूऔषधसहित नौ जना पक्राउ



झापा, २८ पुष । झापाबाट लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गएराति साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय बुधवारे र सशस्त्र प्रहरी बेस क्याम्प टिमाई, झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मेचीनगर–७ का २६ वर्षीय बिमल मेचे र मेचीनगर–११ का २३ वर्षीय प्रबिन राईलाई शंका लागी चेकजाँच गर्दा बिमल मेचेको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लास्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम फेला परेको थियो। साथै उनीहरूका साथबाट नगद रकम तथा विभिन्न सामग्रीसमेत बरामद गरिएको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा मेचीनगर–८ का २० वर्षीय कविस मेचे, मेचीनगर–११ का २८ वर्षीय बासु राजवंशी, सोही स्थानका ३४ वर्षीय सुरेश खड्का, मेचीनगर–१० टिकापुरका ३० वर्षीय घनश्याम माझी, बुद्धशान्ति गाउँपालिका–४ बर्नेका ३५ वर्षीय कुमार गुरुङ, बुद्धशान्ति गाउँपालिका–३ का २५ वर्षीय सन्दिप सराइली र बुद्धशान्ति गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्रकुमार थापा रहेका छन्।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यसअघि पनि सोही स्थानबाट लागूऔषध सेवन तथा कारोबारमा संलग्न ४३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्