झापा, १४ जेठ । झापाको सीमावर्ती क्षेत्रमा प्रहरीले लागूऔषधविरुद्धको अभियानका क्रममा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय आमा–छोरीसहित एक नेपाली नागरिक रहेका छन्।
प्रहरीका अनुसार गौरीगंज–२ आँपगाछी नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतको किशनगञ्ज निवासी ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरीलाई शंकाका आधारमा जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। बरामद लागूऔषधको तौल २० ग्रामभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा साइकलमार्फत नेपाल प्रवेश गर्दै गरेका ३२ वर्षीय दुखु मियाँलाई पनि प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। साइकलको सिटमुनि लुकाएर ल्याइएको ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै घटनाका पक्राउ परेकामाथि सम्बन्धित प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।








