Logo

झापामा सहिदका परिवारलाई सम्मान



झापा, २१ फागुन । झापामा सहिद तथा बेपत्ता भएकाहरुका परिवारलाई सहिद स्मृति दिवसका अवसरमा सम्मान गरिएको छ । सहिद स्मृति प्रतिष्ठान नेपाल, झापाले आज बिर्तामोडस्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको सभा हलमा सहिद स्मृति कार्यक्रमको आयोजना गरी सहिद तथा बेपत्ता भएका ८४ जनाका परिवारलाई सम्मान गरिएको हो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले सहिद तथा बेपत्ता भएकाहरुका परिवारका सदस्यलाई सम्मान गरे । कार्यक्रममा उनले सहिद परिवारका सदस्यलाई राहत र सहयोगका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए । मन्त्री कार्कीले भने, “सहिद तथा बेपत्ता भएकाहरुका परिवारलाई प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको छ ।”

सहिद तथा बेपत्ता परिवारलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सहिद र बेपत्ताको योगदानले मुलुकमा परिवर्तन सम्भव भएको बताउँदै उनले भने,“उनीहरुको योगदानलाई गौरव र सम्मान गर्नुपर्छ, सहिदले देखेको सपनाबाट कोही पनि विचलित हुनु हुँदैन ।”

कार्यक्रममा सहिद भएकाहरुका परिवारका सदस्य रत्न घिमिरे र लालसुन्दर राईले सरकारले सहिदका परिवारलाई बेवास्ता गरेको गुनासो गरे । उनीहरुले सहिदको बलिदानीले व्यवस्था परिवर्तन भए पनि अवस्था नफेरिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्