झापा, २४ वैशाख । सशस्त्र प्रहरीले झापामा स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर–७, जोरसिमलमा बुधबार बिहान चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारी- ८ का ३८ वर्षीय डम्बरबहादुर कार्की पक्राउ परेका हुन् ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा उनलाई सो रकमसहित पक्राउ गरिएको जनाइएको छ । भारतीय रुपैयाँको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० हुन्छ । बरामद नगदसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।