झापा, २४ साउन । झापामा हात्तीको आक्रमण र क्षतिबाट प्रभावितलाई सरकारले एक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको छ ।
डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितका लागि कुल रु १ करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरिएको हो ।
हात्तीको आक्रमणबाट उक्त आर्थिक वर्षमा झापामा ६ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् । मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख राहत प्रदान गरिएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिनुभयो ।
त्यस्तै, गम्भीर घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत वितरण गरिएको छ ।
हात्तीबाट पशुधनमा भएको क्षतिबापत १५ वटा पशुधनका लागि रु १ लाख ५० हजार क्षतिपूर्ति दिइएको छ । भण्डारण गरिएको अन्नमा क्षति पुगेका १९१ घटनामा रु १५ लाख २० हजार २६४ राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, २६८ घर तथा गोठमा भएको क्षतिबापत रु ४२ लाख ५४ हजार ५६० र अन्नबालीमा भएको क्षतिबापत रु ५४ लाख ५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।
मानवीय क्षतिसँगै घरगोठ, अन्नबाली, भण्डारण गरिएको अन्न तथा पशुधनमा समेत हात्तीबाट ठूलो क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ । झापामा मानव–हात्ती द्वन्द्व चुनौतीका रूपमा रहँदा पीडितलाई राहत वितरणसँगै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।






