झापा २८ साउन । झापामा पछिल्लो समय परम्परागत ९रैथाने० हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाका अनुसार २०७५ सालमा १०–१२ वटाको सङ्ख्यामा हात्ती रहेकोमा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ ।
उहाले भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।
उनले जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको पनि जानकारी दिनुभयो ।
हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ ।
हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताउनुभयो ।
मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उहाको जोड थियो ।
हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उहाको भनाइ छ ।
हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको सङ्ख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो ।
यसैबीच, हात्तीलाई वनजंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जङ्गलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ ।
वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । वनमा केराका बिरुवासमेत रोपिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७–६८ देखि आव २०८०–८१ सम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भएको छ भने २१ हात्ती मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन् ।
जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० वटाको नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ ।