Logo

झापामा हात्ती धपाउन अब अत्याधुनिक ड्रोनको प्रयोग



झापा, ४ जेठ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।

कार्यालयले रु। १० लाख खर्चेर ड्रोन खरिद गरेको डिभिजन बन कार्यालय झापाका बन अधिकृत देबेन्द्र उप्रेतीले जानकारी दिनुभयो । दुई किलोमिटर वरपरको दृश्य कैद गर्न सक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा समेत जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ ।

ड्रोनको प्रयोगले जंगली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षित रुपले जंगलतर्फ फर्काउन महत्त्वपूर्ण सघाउ पुग्ने उहाँले बताउनुभयो । जंगल क्षेत्रमा बढिरहेको बन्यजन्यु चोरी तस्करी नियन्त्रणमा समेत ड्रोन उपयोगी हुने बन कार्यालयको आशा छ ।

ड्रोनलाई मोडिफाई गरेर नाइटभिजन बत्ती र साइरन समेत जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयाग गर्न सकिने बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जंगली हात्ती धपाउन सजिलो हुनेछ ।

यस अघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुई वटा सवारी साधनलाई प्रयोगमा ल्याउने गरेको थियो । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाका लगायतका विभिन्न उपायहरु प्रयोग भइसकेको छ ।

ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ । जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भूभाग कचनकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ ।

“हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौं”, बन डिभिजन कार्यालयका बन अधिकृत उप्रेतीले भन्नुभयो, “मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्ने वित्तिकै जंगलतर्फ भागेका थिए ।”

भद्रपुर नगरपालिका–१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनले चार बर्ष अघि हात्ती धपाइएको थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर ड्रोन परीक्षण लागि बन कर्मचारीलाई तालिम दिइएको छ ।

उहाँले ड्रोनमार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकाराी सावित भएमा आगामी बर्ष प्रविधियुक्त अर्को ड्रोन समेत खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्