झापा, १८ जेठ । दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् ।
नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर -१९, दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित कार्यक्रम गर्ने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी टेक्निकल डाइरेक्टर डा. हसना ममैया श्रेष्ठले सबैलाई स्वागत गर्दै नेपालमा सबै सरोकारवालाहरूको साथ र सहयोगमा विगत १५ वर्षदेखि विश्व दूध दिवस मनाउँदै आएको र अब आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाउने बताउनुभयो ।
नेपाल डेरी एसोसिएशनले दूध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । एशोसिएसनले गत जेठ १४ गते काठमाडौंको त्रिरत्न आवासीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दूधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।