भद्रपुर, २९ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको १८ स्थापना दिवसको अवसरमा जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । कैदीबन्दीको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।
जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामाग्री कैदीलाई प्रदान गरिएको महासङघ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरि कैदीलाई शनिवार पुस्तक प्रदान गरेको हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रसाशन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझिले ग्रहण गरेका थिए ।
व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेसनर व्यवसायी महासङघ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनका अनुसार कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटवल, भलिवल लगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघका झापा अध्यक्ष विनोद सापकोटाले जेलजीवनबाट मुक्त भएपछि नयाँजीवनको सुरुवात गर्न र जीवन शैली परिवर्तन गर्न यी पुस्तकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले भने, ‘त्यसका लागि जेल जीवनलाई अध्ययनशिल बनाउनुहोस् ।’ उनले फुर्सदको यो समयमा पुस्तक पढेर जीवनलाई परिवर्तन बनाउन पनि अनुरोध गरे ।
कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी जीवनलाई ज्ञानबद्र्धक बनाउन पुस्तकले सहयोग गर्ने अध्यक्ष सापकोटाले बताएका छन् ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका कोशी प्रदेसका बरिष्ठ उपाध्यक्ष जीवन नेपाल पनि सहभागि थिए । उनले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्ने बताएका छन् । उनले पुस्तक मानशिक स्वास्थ्यका लागि पनि सहयोगी बन्ने अपेक्षा गरे ।
कार्यक्रममा बन्दी विकास पुस्तकालयका सचिव रमेस पोख्रेलले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाको खुलेर प्रशंसा गरे । एक दिनको ८० र ७ सय ग्राम चामल सरकारले दिएको छ । सरकारको झिनो सुविधाले कारागार भित्र पुस्तक, खेलका सामाग्री लगायत बन्दीका आधारभुत आवस्यक्ता पुरा नभइरहेको अवस्थामा पठन सामाग्रीले आफुहरुलाई राहत दिएको उनले बताए ।
उनले सङ्ख्यात्मक भन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु प्राप्त भएकोमा खुसी व्यक्त गरे । सचिव पोख्रेलले जेलबाट बाहिरिए पछि हामी कैद भुक्तान गरिसकेकालाई बाहिरी समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको गुनासो । ‘कानुन जानेर वा नजानेर गरेका गल्तिको सजाय भोगि सकेपछि पनि बाहिरी समाजले हामीलाई अपराधिकै संज्ञा दिने र अर्को अपराध घटाउने गरेको छ,’उनले भने ‘कैदीलाई बाहिरी समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सरकारले चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने उनले सुझाए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रीय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का ईकाई अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासङघका पदाधिकारीको सहभागिता थियो । झापा कारागार भित्र आयोजना भएको कार्यक्रमको सहजिकरण सचिव चन्द्रमणी घिमिरेले गरेका थिए ।






