झापा, १० माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्व उपसभामुख इन्दिरा रानाले युवामैत्री जनसम्पर्क अभियानलाई तीव्र बनाएकी छन्।
झापामा जेन–जी युवाको उल्लेख्य साथ पाएकी रानाले झापा गोल्ड कपको तयारीका क्रममा युवाहरूसँगै साइक्लिङ गर्दै सक्रिय सहभागिता जनाएकी हुन्। यस कार्यक्रमले खेल, स्वास्थ्य र सकारात्मक सोचमार्फत युवासँग प्रत्यक्ष संवाद गर्ने उनको अभियानलाई थप ऊर्जा दिएको छ।
साइक्लिङ अभियानका क्रममा रानाले युवाहरूलाई देश निर्माणमा अग्रसर हुन आह्वान गर्दै सुशासन, रोजगारी, शिक्षा र खेलकुद प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेको बताइन्। “युवाको शक्ति नै राष्ट्रको भविष्य हो,” भन्दै उनले नयाँ सोच र पारदर्शी राजनीतिमार्फत परिवर्तन सम्भव हुने धारणा व्यक्त गरिन्।
स्थानीय युवाहरूले पनि रानाको सहभागितालाई प्रेरणादायी भन्दै चुनावी अभियानमा साथ र समर्थन जनाएका छन्। यससँगै झापा क्षेत्र नं. २ मा चुनावी माहोल थप तातिँदै गएको देखिएको छ।







