झापा, १४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।
काठमाडौँ-५ कि झापा-१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् ।
शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए ।
चुनाव जित्ने दाबी गरेका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा-१ माओवादीको भागमा पर्न सक्ने संकेत गरेका थिए ।
उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।”







