झापा, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
झापा गाउँपालिकामा रहेको लक्ष्मीमार्ग सडक खण्डअन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाएको झुटो भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बाइस लाख नौ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।
आयोगले अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाविरुद्ध मुद्दा चलाएको हो ।





