Logo

झापा गोल्डकपको उपाधि मछिन्द्रलाई, एपिएफ ३–१ ले पराजित



झापा, ४ फागुन । मछिन्द्र फुटबल क्लबले सशक्त प्रदर्शन गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि जितेको छ। फाइनलमा मछिन्द्रले एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो।

अधिकांश झापाली खेलाडी सम्मिलित मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको ट्रफी उचाल्दै नयाँ इतिहास रच्यो। विजेता बनेसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँसहित ट्रफी हात पार्‍यो भने उपविजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। यो संस्करण नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता बनेको आयोजकले जनाएको छ।

खेलको ३१औँ मिनेटमा प्रदिप बुढाथोकीले अयोला हमजातको पासलाई सदुपयोग गर्दै मछिन्द्रलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयतिर फ्रयाङक अनोहले दोस्रो गोल थपेपछि मछिन्द्र २–० ले अघि बढ्यो।

दोस्रो हाफमा एपिएफले दबाब सिर्जना गरे पनि ७६औँ मिनेटमा मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै ८३औँ मिनेटमा अलिसन अलिजोनोभले कर्नरबाट आएको बललाई जाली चुमाए।

एपिएफका लागि ८२औँ मिनेटमा दिपेश धिमालले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।

प्लेयर अफ द म्याच प्रदिप बुढाथोकी घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पेमा तामाङ बने। बेष्ट गोलकिपर विशाल श्रेष्ठ, बेष्ट कोच प्रवेश कटवाल तथा हाई स्कोरर जोनाथन जोरिल्ला घोषित भए।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, झापा–११ फुटबल क्लबसहित स्वदेशी तथा विदेशी टोलीको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्