झापा, २६ माघ । आयोजक झापा–११ फुटबल क्लबले कठिन संघर्षपूर्ण जित निकाल्दै बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरको रोमाञ्चक क्षण
झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गरे। सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङ सफल भए। सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरियो।
खेल अवधिभर झापाको दबाब
खेलको २८औँ मिनेटदेखि झापाले विपक्षीमाथि दबाब बढाएको थियो। विदेशी खेलाडी ओलावाले अफिजको पावरफुल प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल बनाए।
३८औँ मिनेटमा समिर तामाङको प्रहार बचाइयो भने ४९औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि पनि उनी गोल गर्न चुके। खेलको अन्त्यतिर मौसम सुब्बाको प्रहार पनि गोलकिपरले पञ्च गरेर जोगाए।
सिङलिङले खासै अवसर सिर्जना गर्न सकेन। ५९औँ मिनेटमा कप्तान उत्तम राई वान–टु–वान अवस्थामा गोल गर्न असफल भए।
प्लेयर अफ द म्याच
झापा–११ का गोलकिपर विवेक मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।
भोलिको खेल
मंगलबार दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच प्रतिस्पर्धा हुनेछ।
पुरस्कार राशि
विजेता: १५ लाख रुपैयाँ
उपविजेता: ७ लाख ५० हजार रुपैयाँ
उत्कृष्ट खेलाडी: यामाहा मोटरसाइकल
उत्कृष्ट कोच, हाई स्कोरर र गोलकिपर: जनही ३५ हजार रुपैयाँ
झापा गोल्डकपमा अब प्रतिस्पर्धा अझ रोमाञ्चक बन्दै गएको छ।







