Logo

झापा गोल्डकप सातौँ संस्करण माघ २४ देखि, १० टोलीको सहभागिता र १५ लाखको विजेता पुरस्कार



झापा, १६ माघ । मोफसल क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुने भएको छ। विनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका रूपमा आयोजना हुन लागेको यस संस्करणको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको प्रतियोगिता अध्यक्ष केदार गिरीले बताए। यसपटक प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहनेछ। प्रायोजक र आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर पनि सम्पन्न भइसकेको छ।

मैदान मर्मतको काम अन्तिम चरणमा पुगेको छ भने दर्शकका लागि अस्थायी बाँसको प्यारापिट निर्माण पनि पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी (एमभीपी) लाई मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले २१ हजार रुपैयाँ पाउनेछ।

विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठ नेतृत्वको टोलीले गरेको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु र विदेशी गरी १० टोली सहभागी हुनेछन्। भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसी पनि प्रतिस्पर्धामा रहनेछन्।

२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगितामा यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ। साथै, रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने आयोजकले जनाएको छ।

करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला संस्था, प्रायोजक र स्वयंसेवकसँग समन्वय भइसकेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्