झापा, १४ असार । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा १८ वर्षीया युवतीमाथि करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति करिब ९ बजे इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पाले युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको हो। घटनापछि फरार भएका शेर्पालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।
पीडित युवतीले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी गराएकी थिइन्। त्यसलगत्तै खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। स्वास्थ्य परीक्षणपछि आज बिहान ३ बजे उनलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।





