Logo

झापा ‘बी’ डिभिजनमा बढुवा



काठमाडौँ, १६ जेठ । झापा फुटबल क्लब एक खेल बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको १२औं राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५-० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो ।

शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापाले प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीविरुद्ध ३ अंकको अग्रता लिएको छ । दुवै टोलीका समान २८ अंक छ ।झापाले आफ्नो खेलमा हार भोग्ने र आरसी ३२ ले जितेको अवस्थामा हेड टु हेडमा झापा नै माथि रहनेछ ।

झापाले १२ खेल खेल्दा १० जित, समान एक बराबरी र हारको नतिजा निकालेको छ । अब प्लानिङ ब्वाइज र आरसी ३२ मध्येबाट एक टोली बढुवा हुनेछ ।

वीरगन्जविरुद्ध झापाको फराकिलो जितमा पुजन राईले ह्याट्रिकसहित चार तथा सन्तोष लावतीले एक गोल गरे । खेलको १३औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । उनले ६५औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि पुजनले ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सन्तोषले तथा पाँचौ मिनेटमा पुजनले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गर्दै झापालाई सानदार जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्