Logo

झापा र कञ्चनपुरबाट एकै पटक पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडित चितवनमा



चितवन, ४ फागुन । गएको माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडितहरू चितवनको नारायणगढमा आइपुगेका छन् ।

दुवैतर्फबाट हिँडेका पीडितहरू १८ औँ दिनमा नारायणगढमा भेट भएर संयुक्त टोली बनेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए ।

दुवैतर्फबाट एकै दिन एकै समयमा पैदलयात्रा शुरु गरेका पीडितहरूको चितवनमा भेट भएको हो । नारायणगढमा कार्यक्रम गरी काठमाडौँतर्फ अघि बढ्ने अध्यक्ष कुशवाहाले बताए ।

दुवैतर्फका गरी झन्डै सात सय जना पीडित यात्रामा सहभागी छन् । बाटोमा थपिँदै काठमाडौँ पुग्दा झन्डै एक हजार पीडित सहभागी हुने र यस पटक निर्णायक आन्दोलन गर्ने कुशवाहाले बताए । आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूको समस्या सरकारले नसुनेका कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उनले बताएका हुन् ।

यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ पुगेका थिए । उनीहरूको समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले छानबिन पनि गरिसकेको छ । तर आफूहरूले न्यान नपाएको पीडितहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्