Logo

झापा विद्रोहको त्यो इतिहास



‘सामन्तलाई नगिँडे सैनिकसँग नभिँडे, आउँदैन जनवाद झोली थापेर’ झापा विद्रोहमा यही गीत गाउँदै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले सामन्ती राज्यसत्ताविरुद्ध विद्रोहको घोषणा गरेका थिए । झापा विद्रोहमा सामन्त विरुद्ध गरिब किसानलाई गोलबद्ध गरेका थिए । विद्रोहका बीच रचिएको यो क्रान्तिकारी गीतको एक अंश, जुन त्यो बेला अत्यन्त लोकप्रिय मात्र थिएन, सशस्त्र संघर्ष किन र कोसँग गरिँदैछ भन्ने कुराको सन्देश पनि थियो ।

झापाली क्रान्तिकारीमा नक्सलवादी आन्दोलनको गहिरो प्रभाव रहेको झापा विद्रोह २०२७ सालको अन्त्यमा तयारी थालिएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्व कोसी प्रान्तीय कमिटीसँग झापा जिल्ला कमिटीले आधारभूत मतभिन्नता राख्दै अलग भएपछि ‘वर्गशत्रु खत्तम अभियान’ नीतिका साथ अघि बढेको हो । रामनाथ दाहाल, नेत्र घिमिरे, मोहनचन्द्र अधिकारी, सीपी मैनाली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी लगायतका क्रान्तिकारी युवाको नेतृत्व र पहलमा झापाका भूमिहीन तथा गरिब किसानलाई सचेत र संगठित गरिएको थियो ।

झापा विद्रोहको उद्देश्य सशस्त्र विद्रोहबाट सामन्त राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु थियो । लगलग एक वर्षसम्म चलेको झापा विद्रोह २०२९ साल फागुन २१ गते पाँच योद्धाको इलामको सुखानी जंगलमा हत्या गरेपछि छिन्नभिन्न भएको थियो । तर, विद्रोहको चर्चा र प्रभाव भने झन् बढ्यो र पञ्चायती सरकारले झापा विद्रोहमा व्यापक दमन ग¥यो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोह पहिलो सशस्त्र संघर्ष थियो । सामन्ती राज्यसत्तालाई ध्वंश गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यका साथ विद्रोह सुरु भएको थियो । झापा विद्रोहले पञ्चायती व्यवस्थालाई हल्लाइदिएको थियो । निरंकुश राज्य सत्ताको विरुद्ध हतियार उठाएर गरिएको २०२८ सालको झापा संघर्ष अत्यन्त चर्चित रहेको छ ।

झापा विद्रोहमा मूलतः किसान वर्ग संगठित भई सामन्तका विरुद्ध हतियार उठाएकाले यसलाई किसान विद्रोह पनि भन्ने गरिन्छ । स्थानीय शासन र शोषण गर्ने बद्मास, जाली फटाहा र जमिन्दारलई खत्तम गर्ने योजना बनाइएको थियो ।

क्रान्तिकारीले ‘एक एरिया, एक युनिट, एक एक्सन’को नीतिअनुसार २०२८ सालमा लडाकु दस्ता तयार पारे । र, पार्टीले छनोट गरेका जमिन्दारमाथि भरुवा बन्दुक, भाला, खुकुरी लगायतका घरेलु हतियारद्वारा आक्रमण सुरु गरे । क्रान्तिकारीको आक्रमण सुरु भएपछि जमिन्दार सुरक्षाको माग गर्दै पञ्चायती शासकलाई गुहार्न पुगेका थिए ।

संघर्षको लक्ष्य एवम् उद्देश्य सामन्ती राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्ने थियो । आक्रमणको निसाना निर्दिष्ट थियो, तरिका र रुपबारे आन्दोलनकारीहरु स्पष्ट थिए । अगुवाई आफूले गरे पनि आधारभूत रुपमा जमिन्दारद्वारा सबैभन्दा उत्पीडित जनसमुदाय राजनीतिक रुपले सचेत बनेर संघर्षमा होमिएका थिए ।

झापा सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दारमाथि योजनाबद्ध आक्रमणबाट भएको थियो । र, क्रमैसँग केही जमिन्दार मारिए । २०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकालमाथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना थियो । त्यही घटनापछि झापाले राष्ट्रको ध्यान तान्यो र निरंकुश पञ्चायती व्यवस्था सशस्त्र संघर्षलाई नियन्त्रण गर्ने निहुँमा व्यापक दमन र धडपकडमा ओर्लियो ।

कम्युनिष्ट क्रान्तिकारीलाई सखाप बनाउने नाममा सयौँ मानिस पक्राउ गरियो । उनीहरु अमानवीय यातनाका शिकार भए । पक्राउ गरिएकामध्ये ५ जना युवालाई झापाबाट इलाम लैजाने निहँुमा झापा र इलाम सीमा स्थल सुखानीको जंगलमा २०२९ सालको फागुन २१ गते गोली हानी हत्या गरियो । निरंकुश पञ्चायती व्यवस्थाले क्रान्तिकारी अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई गोली हानी बर्बरतापूर्वक हत्या गरेको थियो ।

२०२९ साल साउन १६ गते झापाको नाडियाबाडीस्थित एउटा घरमा भएको प्रहरी आक्रमणमा चन्द्र डाँगीको मृत्यु भयो । आन्दोलनका अगुवामध्ये एक जनाबाहेक प्रायः सबै क्रान्तिकारीलाई गिरफ्तार गरियो । त्यसपछि भयानक दमन र उत्पीडनका कारण झापामा मुर्दा शान्ति छाए पनि घटनाले चर्चा पायो । त्यसपछि नै विखण्डित रहेको कम्युनिष्ट आन्दोलनमा एकीकरणको नयाँ चरण प्रारम्भ भएको थियो ।

झापा विद्रोहमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सी.पी. मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदीप नेपाल, सीता खड्का, मोहन उप्रेती, भीष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, दधिराम उप्रेती, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, रुद्र सुवेदी, टंक चौधरी, गुलाम राजवंशी, खड्ग थापा, भीम कुँवर, श्रीराम गिरी, दिलबहादुर खड्का, रीता खड्का, नारायण उप्रेती, मनकुमार गौतम, मनकुमार तामाङ, खड्ग दाहाल, वीरबहादुर श्रेष्ठ, डम्बरबहादुर बानियाँ, रामचन्द्र उप्रेती, वीरबहादुर मगर, मातृका पाठक, बलबहादुर खड्का, कृष्णबहादुर खड्का, बलबहादुर सुवेदी, धनेन्द्र बस्नेत, गौरा प्रसाईं, अमर अधिकारी लगायतका क्रान्तिकारी संलग्न रहेका थिए । झापा विद्रोहलाई सहयोग गर्न भाकपा (माले)बाट भोगेन राजवंशी र राजेन राजवंशी आएका थिए । राजेन राजवंशी नख्खु जेल ब्रेकपछि भारत फर्किए भने भोगेन राजवंशी १७ वर्षको जेल जीवन बिताएर २०४६ साल पुस २९ गते छुटेपछि भारततर्फ लागे ।

अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटी हुँदै झापा विद्रोहका अगुवाद्वारा २०३५ सालमा नेकपा (माले) को गठन गरे । झापा आन्दोलनसँग सम्बद्ध १५ जना क्रान्तिकारीले २०३२ सालमा गरेको नख्खु जेल विद्रोह पनि झापा विद्रोहको शृङ्खला अन्तर्गतको एउटा कडीको रुप हो ।

जेलभित्रको एउटा कोठाबाट ३१ फिट लामो सुरुङ खनेर साहसपूर्वक निस्किएर जनताको पंक्तिमा पुग्न सफल भएको घटना नख्खु जेल विद्रोहको नामले चर्चित छ । नख्खु जेल ब्रेक गरी झापा विद्रोहका नेता सी.पी. मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल बाहिर निस्किएका थिए ।

झापा विद्रोहीहरुसँगै मुस्लो परिवारका माधव पौडेल, प्रदीप नेपाल, वीरबहादुर लामा गोपाल शाक्य थिए । यसैगरी परमेश्वर यादव र अशोक न्यौपाने पनि जेल ब्रेकबाट बाहिरिएका थिए । तर, पञ्चायती व्यवस्थाको व्यापक खोजीपछि नारद वाग्ले, धर्म घिमिरे, नरेश खरेल, घनेन्द्र बस्नेत र भीष्म धिमाललाई प्रहरीले पक्राउ गर्यो ।

नख्खु जेल ब्रेकले नेपालको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने क्रान्तिकारीहरु जनताका बीचमा पुग्न सफल भए । झापा विद्रोह समाप्त भयो भन्नेहरुका लागि जेल ब्रेकले विद्रोह समाप्त भएको छैन भन्ने सन्देश दिएको थियो । विद्रोहमा भएको बर्बर दमनबाट हतास न्यायप्रेमी जनताका लागि नख्खु जेल ब्रेकले उर्जा प्रदान गरेको थियो । झापा विद्रोह, जेल ब्रेक, कोअर्डिनेशन केन्द्रको गठनले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गर्ने अवसर पनि प्रदान गरेको थियो । झापा विद्रोहले नै त्याग र बलिदानको भावनालाई जगाएको थियो ।

माओवादी जनयुद्ध, झापा विद्रोहको निरन्तरता
२०५२ साल फागुन १ गतेबाट सुरु भएको माओवादी जनयुद्धले नेपाल मात्र होइन, संसार हल्लाएको थियो । जनयुद्ध माओवादको नयाँ प्रयोग थियो । झापा विद्रोहको सशस्त्र युद्धबाट सामन्ती राज्यसत्ता ध्वस्त पारी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य जनयुद्धले पनि बोकेको थियो । झापा विद्रोहभन्दा जनयुद्ध योजनाबद्ध विद्रोह थियो ।

माओवादी जनयुद्धको इन्डिङ शान्तिपूर्ण रुपमा भयो । सशस्त्र युद्धका उपलब्धिलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् । जनयुद्ध र २०६२÷६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७(२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।

सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूर्ण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गर्यो । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तनभन्दा भिन्न चेतनाका हिसाबले पिछडिएको ग्रामीण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल विशेषता थियो । त्यसमा पनि घरेलु र केही थान भरुवा बन्दुकका भरमा सुरु गरिएको सशस्त्र युद्ध राज्यसत्ताको जरै हल्लायो ।

जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखि कम्युन, जनअदालत गठन आधार इलाकाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधीबेहरी सिर्जना गरेको जनयुद्धले संसार हल्लाएको थियो । विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बन्यो । जनयुद्धले माक्र्सवादको प्रयोग शान्तिपूर्ण रुपमा मात्र गर्नुपर्छ भन्ने सोच र दृष्टिकोणलाई चुनौती दिएको छ ।

कम्युनिष्ट आन्दोलनको बाटो
झापा विद्रोहको जगबाट स्थापित नेकपा एमाले र जनयुद्धको जगबाट स्थापित नेकपा माओवादीबीच पार्टी एकता भई नेकपा गठन भएको छ । नेपालमा दुई ठुला कम्युनिष्ट पार्टीबीचको एकताको परिणामस्वरुप दुई तिहाइको सरकार स्थापित छ । पार्टी र सरकार शान्तिपूर्ण परिवर्तन गर्ने दिसामा उभिएको छ । झापा विद्रोह र जनयुद्धलाई नेकपाले क्रान्तिका रुपमा स्वीकारेको छ ।

झापा विद्रोह होस् वा जनयुद्ध, हिजोको क्रान्तिका गाथा गाएर मात्र उद्देश्य पूरा हुँदैन । विद्रोह र जनयुद्धमा घोषित उद्देश्य प्राप्तिका लागि संघर्ष गर्नु एक मात्र लक्ष्य हुनुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । सुखानीका शहीद र जनयुद्धका शहीदले देखाएको लक्ष्य, उद्देश्य र बाटो नेकपा र तीनका नेताले पूरा गर्न सक्नुपर्छ ।

झापा विद्रोहमा ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिँडे, आउँदैन जनवाद झोली थापेर’ भनेर जनता घरमा गाइएका गीत वा ‘वर्गशत्रु खत्तम अभियान’का रुपमा सुरु गरिएको विद्रोह ठूलो पार्टी बनाउन र सत्तामा पुग्न मात्र थिएन । जनतामा आधारभूत परिवर्तन नहुने हो भने सत्तामा हुनुको अर्थ र औचित्य हुँदैन । हिजो खाएका कसम आजको नेतत्वले पूरा गर्नुपर्छ । अनि मात्र शहीदले दखाएको बाटोमा हिँड्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्