Logo

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन



काठमाडौँ, २० जेठ । एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४-२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा विशाल खवासले दुई तथा मनिष लिम्बु र पुजन राईले समान एक गोल गरे । स्वयम्भुका रोशन क्षेत्री र पाल्साङ लामाले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै विशाल खवासको गोलबाट झापाले सुरुवात अग्रता लिन सफल भयो । ३९औं मिनेटमा विशालले नै गोल गर्दै झापाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा मनिष लिम्बुले गोल गरेपछि झापा सहज जिततर्फ अग्रसर बन्यो । ५१औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए ।

५५औं मिनेटमा पुजन राईले गोल गर्दै झापालाई ४-१ ले अघि बढाए । ६७औं मिनेटमा पाल्साङ लामाले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा झापा विजयी हुन सफल भयो ।

झापाले लिगको १३ खेलबाट ३४ अंक जोड्यो । दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले ३१ तथा तेस्रो भएको आरसी ३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो ।

उपाधिसँगै झापाले १० लाख रुपैया हात पारेको छ । दोस्रो भएको प्लानिङले ७ लाख तथा तेस्रो भएको आरसी ३२ ले ४ लाख रुपैया हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्