Logo

झापा-१ मा राप्रपाको संकल्प: रासन कार्ड बितरणदेखि स्वास्थ्य-शिक्षामा नि:शुल्कसम्म



झापा, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा क्षेत्र नं. १ का उम्मेद्वार हेमराज कार्कीको ३४ बुँदे चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ। आइतबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत संकल्प पत्र सार्वजनिक गरिएको हो।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाले मेचीनगर–४ बाहुनडाँगीका हेमराज कार्कीलाई उम्मेद्वार बनाएको छ। पत्रकार सम्मेलनमा संकल्प पत्र वाचन गर्दै क्षेत्रका जनताको आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राखिएको जनाइएको थियो।

संकल्प पत्रमा नेपालमा उत्पादन भएका सुपारीको डीएनए परीक्षण प्रस्ताव खारेज गर्नुपर्ने, सुपारी आयात निरुत्साहित गरी स्वदेशी उत्पादनको संरक्षण गर्ने उल्लेख छ। विपन्न परिवारलाई निःशुल्क आवास तथा रासनकार्ड व्यवस्था, बाहुनडाँगी–तारावारी मेची पुल निर्माण, झोलुङ्गे पुल, कालोपत्रे सडक, पुल–कल्भर्ट, सिँचाइ सुविधा विस्तार, खेलकुद तथा कृषि विकासमा लगानी गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशुपन्छी बीमा र बाली बीमाको व्यवस्था, वन्यजन्तुबाट हुने क्षतिमा उचित क्षतिपूर्ति, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिका लागि बजेट सुनिश्चित गर्ने योजना समेटिएको छ। धार्मिक तथा पर्यटकीय स्थलको विकास, विद्यालयको भौतिक पूर्वाधार सुधार, शिक्षक तथा कर्मचारीका सेवासुविधा, विशेष आर्थिक क्षेत्र (सेज) स्थापना, उद्योगमा लाग्ने कर दर घटाउने विषय पनि समावेश छन्।

चिया खेतीका लागि आवश्यक मल तथा किटनाशक आयातमा साना किसानलाई अनुमति दिने, पाँच वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, दीर्घरोगीको उपचार निःशुल्क गर्ने तथा ग्रामीण आवास कम्पनीअन्तर्गतका जग्गा स्थानीय तहमा ल्याउने प्रयास गर्ने प्रतिवद्धता पनि उल्लेख गरिएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले वैदिक सनातन हिन्दु राष्ट्र स्थापना गर्दै जनताको समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए। निर्वाचन परिचालन समिति संयोजक कल्याण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेचीनगर सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्