झापा, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
ओली २०७४ सालको निर्वाचनमा देशभरीकै सबैभन्दा लोकप्रिय मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले गत चुनावमा ५७ हजार १ सय ३९ मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।
क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।







