झापा, १३ फागुन । आसन्न निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर-५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको यस क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर व्यापक प्रहरी परिचालन गरिएको हो।
केन्द्रीय सुरक्षा समितिको आकलनअनुसार नयाँ र पुराना दलबीच द्वन्द्व हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यहाँ नेपाल प्रहरीका पाँच डीएसपी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा–५ मा केपी शर्मा ओली (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) र बालेन्द्र शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।
इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी भए पनि गृह मन्त्रालयले थप चार डीएसपी पठाएको बताइएको छ। झापा–५ अन्तर्गतका प्रत्येक पालिकामा एक–एक डीएसपीको कमान्डमा सुरक्षा परिचालन गरिएको छ। गौरीगन्ज, गौरादह र कमल गाउँपालिकामा समेत डीएसपी नेतृत्वमा प्रहरी खटाइएको छ।
निर्वाचन सुरक्षाका लागि यस क्षेत्रमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि तैनाथ सुरक्षाकर्मीका अतिरिक्त टोली थप गरिएको हो। करिब दुई साताअघि कोसी प्रदेश प्रहरी कार्यालयबाट १०० सुरक्षाकर्मी झापा–५ मा ल्याइएको थियो भने पछिल्ला दिनमा थप डीएसपीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
झापा प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ। उनका अनुसार निर्वाचन गराउन पर्याप्त सुरक्षा जनशक्ति उपलब्ध रहेको छ।







